२०८१ असार ५ गते मङ्गलवार

सल्यानमा ९ महिनादेखि अस्पताल निर्माण ठप्प



३१ जेठ, सल्यान- छत्रेश्वरी गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माणको काम ९ महिनादेखि अलपत्र परेको छ । शिलान्यास गरिएको झन्डै डेढ वर्षपछि सुरु भएको अस्पताल निर्माणको काम ठेकेदारले छोडेपछि अलपत्र परेको हो ।

काम गरेअनुसारको भुक्तानी नपाएको भन्दै ठेकेदारले निर्माणको काम रोकेको बताईएको छ । उक्त योजनाको ठेक्का गाल्वा÷मेनका जेभीलाई दिइएको छ । भवन निर्माणको अवधि ३ वर्षको छ । तर कम्पनीले झन्डै एक महिना काम गरेर निर्माणको काम अलपत्र पारेको स्थानीय नरबहादुर पुनले बताउनुभयो ।

यसैबिच केन्द्रबाट बजेट नआउँदा ठेकेदार कम्पनीले मागेको पेस्की दिन समस्या भएको छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश दाहालले बताउनुभएको छ । अस्पताल भवन निर्माणका लागि संघीय सरकारले १८ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘तर रकम एकमुष्ट नआई क्रमागत रूपमा पठाइने गरेकाले समस्या भएको बताउनुभयो ।

जिल्लाका १० पालिकामध्ये ८ स्थानीय तहमा आधारभूत अस्पतालको काम सुरु भएको छ । तर बजेट अभावका कारण सबै स्थानीय तहमा अस्पताल भवन निर्माणको कामले तीव्रता पाउन सकेको छैन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्