१ वैशाख,घोराही- दाङमा स्थानीत तह निर्वाचनलाई सुरक्षित बनाउन लाइसेन्स प्राप्त हतियार संकलन गरिएको छ । गएको चैत्र ११ गते सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले चैत्र ३० गते सम्म लाइसेन्स प्राप्त हतियारहरु बुझाउन अपिल गरेको थियो ।
आजको मिती सम्म ४५ थान हतियार र ७ थान गोली प्राप्त भएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सहित प्रहरीका विभिन्न युनिटमा ति लाइसेन्स प्राप्त हतियारहरु सम्बन्धित व्यक्तिहरु बुझाएका हुन् ।
गएको २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ५४ थान लाइसेन्स प्राप्त हतियार व्यक्तिहरुले बुझाएका थिए । दाङ प्रहरीले फेरी पनि सबैलाई आग्रह गर्दै भएका बैध र अबैध सबै हतियारहरु बुझाउन आग्रह गरेको प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ ।
दाङमा तत्कालिन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्विकृत लिइएका हतियारहरूको संख्या जिल्लामा २ सय ७२ रहेको छ । जस्मा १२ बोर दुईनाले १ सय ४९ थान, १२ बोर एकनाले ७० थान, पेस्तोल ६ थान, २२ बोर राइफ ३८ थान, हावादारी बन्दुक २ थान र भरूवा बन्दुक ७ थान हतियार विभिन्न व्यक्तिहरु सँग रहेको तथ्यांक छ ।
बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनमा ति हतियारहरूको दुरूपयोग हुन सक्ने भएकाले हतियारहरु बुझाउन ताकेता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले जानकारी दिनुभयो । त्यसैगरी कोही व्यक्ति सँग गैरकानुनीरुपमा रहेका हतियार भए पनि बुझाउन आग्रह गरेको छ ।
हातहतियार खरखजाना ऐन २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन हजारदेखि ६० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको समेत उहाँले बताउनुुभयो । साथै निर्वाचनका बेला दाङ भारत सँगको सीमानाबाट समेत हतियार ल्याउन सक्ने तर्फ पनि सुरक्षा सतर्कता बढाईएको दाङ प्रहरीले जनाएको छ ।।