२ फागुन, घोराही – नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै दाङमा मगर अगुवाहरुले कार्यक्रम गरेका छन् । प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसर पारेर नेपाल मगर संघ घोराही नगर समितिले शुक्रबार घोराहीमा आयोजना गरेको कार्यक्रममा सहभागी मगर अगुवाहरुले देशका लागि बलिदानी दिएर शाहदात प्राप्त गरेका प्रथम शहीदलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारले ध्यान दिनुपर्ने माग गरेका हुन् ।
मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढाको अध्यक्षता तथा नेपाल मगर संघको केन्द्रीय सह–अध्यक्ष गंगा थापा मगरको प्रमुख आतिथ्यमा घोराही १४ लखन थापा पार्कमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले सच्चा शहीदको सम्मानमा कन्जुस्याईँ गर्न नहुनेमा जोडसमेत दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सह–अध्यक्ष गंगा थापा मगरले राज्यले लखन थापा मगरलाई प्रथम सहिद मात्रै घोषणा गरेपनि स्मृतिमा सम्मानका कार्यक्रम नगर्दा प्रथम सहिदको अपमान हुने अवस्था सिर्जना भएको तर्क गर्नुभयो । घोराहीमा तत्कालीन त्रिभुवन पार्कमा लखन थापा नामाकरण गरेर मगर समुदायका अगुवाहरुको सक्रियतामा अहिले शालिक निर्माण गरिएको भन्दै यसले शहीदहरुको सम्मान भएको बताउनुभयो । उहाँले सच्चा शहीदहरुको सम्मानमा राज्यले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी, नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दरजीत रोकाले शहीद सबैको साझा सम्पत्ति भएकाले लखन थापालाई सबैले सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल मगर संघका केन्द्रिय उपमहासचिव सावित्रा राना मगरले मगर समुदाय कला, संस्कृति र परम्पराको धनी समुदाय भएकाले यसको संरक्षण र विकासका लागि एकता आवश्यक रहेको बताउनुभयो । उहाँले लखन थापाले नेपालको इतिहासमा वीरता कायम गरेको भन्दै यसले मगर समुदायको शीर ठाडो बनेको बताउनुभयो ।
कार्यक्रममा घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढा, नेपाल मगर संघ केन्द्रीय अनुसन्धान विभाग सदस्य कर्णबहादुर बुढा मगर, नेपाल मगर संघ केन्द्रीय सदस्य शारदा पुन मगर, नेपाल मगर संघ घोराही नगर शिक्षा सदस्य कमला देउजा पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेश अनुशासन विभाग आयोग सदस्य खलुप्रसाद पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य कैलाश रोका मगर, नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति अध्यक्ष मुक्त बुढा मगर, उपाध्यक्ष प्रेम बुढा मगरलगायत बोल्नुभएको थियो ।
सो अवसरमा लखन पार्कमा रहेको लखन थापा मगरको शालिकमा प्रमुख अतिथिसहित उपस्थित व्यक्तिहरुले माल्यार्पण गर्दै सम्मान प्रकट गर्नुभएको थियो । कार्यक्रममा मगर समुदायको विभिन्न कला, संस्कृति प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण गणेशप्रताप पुनले गर्नुभएको थियो ।