२ फागुन, रोल्पा – सहिदमार्ग सडक खण्ड अन्तर्गत दाङको घोराहीबाट रोल्पाको होलेरी जाने सडक कालोपत्रे गरेको ६ वर्ष भयो । तर अहिले कालापत्रे कतै पनि भेटिन्न । कमसल कालोपत्रे र दाङमा खुलेका सिमेन्ट उद्योगका टिप्परले सडकको भारवहन क्षमताभन्दा बढी चुनढुंंगा ओर्सान थालेपछि सडक भत्किएको हो ।
दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म ३१ किलोमिटर सडक ६ वर्षअघि कालोपत्रे गरिएको थियो । १० टनको भारवहन क्षमताको कालोपत्रे भएको सडकमा झन्डै ४० टन चुनढुंगा बोकेका टिप्पर चल्दै आएका छन् भने सडक पुनः निर्माणको काम कहिले हुन्छ भन्ने कुनै टुंगो समेत छैन ।
अहिले सडकमा खाल्डाखुल्डी बाहेक, कालोपत्रे कतै नभेटिने स्थानीय होम ऐरीले बताउनुभयो । सील–प्यासिफिक जेभी निर्माण सेवा काठमान्डौंले भ्याटसहित ४० करोड रुपियाँमा २०७१ जेठमा ठेक्का लिएको थियो ।
निर्माण कम्पनीले पनि सयमामा काम पनि सकेको थिएन । त्यसमाथि पनि कालोपत्रे कमसल भएको भन्दै स्थानीयले सडक योजनाको ध्यानकर्षण गराएका थिए । सडक कालोपत्रे गरेको अढाई महिनामै कालोपत्रे उप्किएको थियो ।।