२०८१ माघ ४ गते शुक्रवार

स्थानीय चुनाव: बिहीवारदेखि दल दर्ताको तयारी



२ माघ,घोराही- निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आउँदो बिहीवारदेखि दल दर्ता गर्ने तयारी गरेको छ । बिहीवार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको छ ।

आयोगमा अहिले एक सय तीन दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

नामावली अद्यावधिक गर्न अझै एक महिना लाग्न सक्ने उहाँले बताउनुभयो । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झण्डै एक करोड ८० लाख मतदाता हुने आयोगले जनाएको छ ।

२०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ । चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झण्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्