२०८१ चैत्र ११ गते सोमवार

अधिकारकर्मीद्धारा दाङमा प्रदर्शन : गृहमन्त्रीको राजीनामा माग



२ फागुन,घोराही ।
कञ्चनपुरकी निर्मला पन्त र वैतडीकी भागरथी भट्टलगायतका वालिकाहरुको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज दाङमा प्रर्दशन भएको छ ।

घटना भएको लामो समय बित्दा पनि दोषिलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै दाङका मानवअधिकारकर्मी, नागरिक समाज तथा सरोकारवालाहरुले घोराहीमा विरोध प्रदर्शन गर्दै सरकारको ध्यानआकर्षण गराएका छन् ।

मानवअधिकार सञ्जाल दाङ, नागरिक समाज दाङ, महिला मानवअधिकार रक्षक सञ्जाल दाङ र अन्तरपार्टी महिला सञ्जाल दाङले घोराहीमा विरोध प्रदर्शन गर्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत मागेका छन् ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय हुदा समेत दोषी पत्ता लगाउन नसकेकै कारण फेरि भागरथीहरुले बलात्कारपछि मारिनुपरेको भन्दै दोषीहरुको तत्काल खोजवीन गर्न सरकारसंग माग गरेका हुन ।

सरोकारवालाहरुले घोराहीको तुलसीपुर चौकदेखि विरोध ¥याली निकालेर बैंकरोड, सहिद गेट हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुझाइएको ज्ञापनपत्रमा महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै १८ वर्ष भन्दा कम उमेरका बलात्कार प्रभावित र पीडित बालिकाहरुको लागि सरकारी तहबाट उचित संरक्षण, मनोविमर्शका साथै शिक्षा, जीविकोपार्जनको अधिकारको सुनिश्चितता गर्दै सामाजिक न्यायसमेतलाई केन्द्रमा राखेर काम गर्नुपर्ने, बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सम्बद्ध सबैलाई समेत दण्डित गर्नेगरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन गर्न समेत माग गरिएको छ ।

सरकारले यसअघि अपनाउँदै आएको भनिएको शून्यसहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्नेगरी व्यवहारतः लागू गरी दण्डहीनताको अन्त्य गर्नुपर्ने, बलात्कारको कसूर गर्नेलाई सर्वस्वसहित जन्मकैदको सजायको कानुनी व्यवस्था गर्नुपर्ने र बलात्कारका अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशीलकार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्