२०८२ बैशाख ११ गते बुधवार

तिहार शुरु,आज काग तिहार र धन्तेरस



२८ कात्तिक।
हिन्दुहरुकोे दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार अर्थात यमपञ्चक मनाउँदै आइएको छ । तिहारको पहिलो दिन आज काग तिहार ।

यस वर्ष यमदीपदान विहीबारदेखि शुरु भए पनि काग तिहार आज शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो ।धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आज शुक्रबार नै परेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीको बास रहने धार्मिक विश्वास छ ।

काग तिहारका दिन कागलाई मीठो मीठो खाना चढाइन्छ । वैदिक मान्यतानुसार कागलाई सन्देश वाहकका रुपमा मान्ने गरिन्छ । यस दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ ।

लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा रहेपनि अहिले काग तिहारदेखि नै विशेषगरी विद्युतिय बत्तिहरु, झिलिमिली बाल्न थालिएको छ । उज्यालोको पर्व तिहार यस वर्ष भने कोरोना संक्रमणका कारण विगतमा भन्दा चलहपहल र रौनकता कम देखिएको छ ।

तिहार भन्ने वित्तिकै झिलीमिली बत्ती, मखमली, सयपत्री फूलका माला,धनधान्यकी देवी महालक्ष्मीको आरधाना अनि दिदी बहिनी तथा दाजुभाइको भातृत्व बढाउने पर्व । यसको उल्लास र रौनक नै बेग्लै छ । तर यस वर्ष कोरोनाको कहरमा तिहारको हर्ष, उल्लास र उमंगमा ह्रास आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्