२०८१ माघ १२ गते शनिवार

सल्यान कपुरकोटबाट ११ करोडको तरकारी निकासी



२८ भदौ, सल्यान –
बेमौसमी तरकारी खेतीका लागि परिचित सल्यान कपुरकोटबाट चार महिनाको अवधिमा ११ करोडको ताजा तरकारी निकासी भएको छ । कपुरकोट गाउँपालिका भित्रका किसानले उत्पादन गरेको २७ हजार २६ मेट्रिक टन ताजा तरकारी जिल्ला बाहिर निकासी भएको हो ।

कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ देखि भदौ २० सम्म ११ करोड ४ लाख १४ हजार ७ सय ४ रुपैयाँको ताजा तरकारी निर्यात भएको केन्द्रका सचिव तिलक शर्माले जानकारी दिनुभयो । बेमौसमी तरकारी भएकाले किसानले राम्रो मूल्य पाएपनि रोग, किराका कारण तरकारी उत्पादनमा भने कमी आएको छ ।

छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले बेमौसमी तरकारी खेतीमा किसानको आकर्षण बढेको छ । तर भारतबाट आएको तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरूले केही सस्तो मूल्यमा आफ्नो उत्पादन दिनु पर्ने बाध्यता छ ।

कपुरकोट गाउँपालिकामा मात्र गत वर्षदेखि तीन वटा तरकारीका ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्