२०८२ बैशाख ९ गते सोमवार

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह



२८ भदौ, घोराही –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले नेपालमा पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताउनुभयो । पौडेलका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका संक्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस रहेको बताईएको छ ।

ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने उक्त भाइरसका लक्षण रहेका छन् । यो रोग बढी संक्रामक पनि हुने गरेको बताईएको छ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार यो भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा ज्यान जाने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निपा भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । सङ्क्रमणको लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्