२९ असार,घोराही- देशभर रहेका करिब ३० हजार कैदीबन्दीको स्वास्थ्य अवस्थाको विवरण केन्द्रीय कारागार अस्पतालले संकलन गर्ने भएको छ । साउनको दोस्रो हप्तामा अस्पतालको वार्षिक प्रतिवेदन, देशभर सुधारगृहमा रहेका कैदीबन्दीको दीर्घरोग लगायतका स्वास्थ्य अवस्था संकलन गर्न लागेको हो ।
कारागार अस्पतालले ७२ जिल्लाका ७५ वटा कारागार कार्यालयमा रहेका सबै सुधारगृहमा स्वास्थ्यकर्मीको दरबन्दी र सेवा प्रवाह, उनीहरूको अवस्था तथा कैदीबन्दीको स्वास्थ्य सेवा प्रवाह तथा व्यवस्थापन र प्रेषणमा परेका समस्यालगायतका विषयमा अध्ययन गरिने केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
समग्र कारागार स्वास्थ्य सुधारका लागि नीति निर्माता तथा एक हजार बढी कैदीबन्दी भएका कारागार कार्यालयका प्रमुखसँग समेत विश्लेषणात्मक लेखको माग गरिएको डा. बुढाथोकीले जानकारी दिनुभएको छ ।
उहाँले कारागार व्यवस्थापन विभागले तयार पार्दे गरेको पीएम आईएस प्रणालीलाई पनि यसले सहयोग गर्ने बताउनुभयो ।।