
कुलदिप न्यौंपानेको फेसबुुकबाट
२९ असार, घोराही –
लेखक सङ्घ दाङ र विश्व नेपाली साहित्य प्रतिष्ठान दाङको संयुक्त आयोजनामा एक साहित्यिक कार्यक्रमको आयोजना भएको छ । लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा पूर्व प्राचार्य गोविन्द न्यौपानेको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य डा.गोविन्द आचार्यको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वको चर्चा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य डा.आचार्य र नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक प्रेम कुमार आचार्यले गर्नुभएको थियो भने राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकार डा.हिमलाल पन्थी, मधुसूदन गौतम, नारदमणि भण्डारी, कमला रिजाल, बिना रोका, कमला थापा, दामोदर पौडेल, देवेन्द्रकुमार रिजाल, आयोजक संस्थाको तर्फबाट लेखक सङ्घ दाङ का अध्यक्ष खगराज न्यौपाने र विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष डा.कृष्णराज डीसीले भानुभक्तको बारेमा बोल्नुका साथै काव्य रचना वाचन गर्नुभएको थियो ।
यसैगरी नेपालका राष्ट्रिय विभूति अर्थात् नेपाली भाषा र साहित्यका युगद्रष्टा आदिकवि भानुभक्त आचार्यको सम्झनामा दाङ घोराहीस्थित र भानु चोकमा एक कार्यक्रमको आयोजना गरेर भानुभक्तको तस्बिरमा फुल–माला अर्पण गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले भानुभक्त नेपाली भाषा र साहित्यका एक महान युगद्रष्टा भएकोले उनको व्यक्तित्व र कृतित्वलाई भुल्न नहुने बताउनुभयो ।
लेखक सङ्घ दाङका सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आयोजक संस्था विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका कोषाध्यक्ष सन्ध्या रेग्मीले धन्यवाद दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण लेखक सङ्घ दाङका सचिव सरिता देवकोटाले गर्नुभएको थियो ।।