२९ असार, दाङ –
असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन । नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी आज २०९औँ भानुजयन्ती मनाइँँदै छ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको हो ।
भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गर्नुभएको थियो । रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् ।
यसैबिच आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । आज ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदैछ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्यको मुख्य भूमिका रहने मानिएको छ ।
मनुस्मृतिअनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ ।
गुरुलाई माता र पितापछिको स्थान दिइएको छ । यद्यपि मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ ।