२०८१ जेष्ठ ५ गते शनिवार

कोरोनाबाट पाल्पाका थप दुई जनाको मृत्यु



३० जेठ, दाङ ।  कोरोनाबाट पाल्पाका थप दुई जनाको मृत्यु भएको छ । उनीहरूको आइतबार लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा रामपुर नगरपालिका–५ का ४६ वर्षीय पुरुष छन् । जेठ २२ गते कोरोना पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।

त्यसै गरी रैनादेवी छहरा गाउँपालिका–४, छहराका ४१ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ। जेठ १७ गते कोरोना पुष्टि भएका उनी घरमै बसेकोमा स्वास्थ्यमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पताल हुँदै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो ।

यससँगै पाल्पामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ । जिल्लामा ८ सय सक्रिय संक्रमित छन् । तीमध्ये ५५ जना अस्पताल र स्थानीय तहका आइसोलेसनमा छन् भने ७ सय ४५ जना होम आइसोलेसनमै बसेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस्