३० बैशाख,काठमाडौँ-निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगको आजको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाताको नामावली स्वीकृत गरेको हो ।
प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ मतदाता रहेकामा विभिन्न कारणले प्रदेशसभा सदस्य आठ र स्थानीय तहका एक मतदाता रिक्त रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । निर्वाचनका लागि दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ ।
मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि केन्द्र (ख) गरी दुई मतदान केन्द्रसमेत तोकिएको आयोगले जनाएको छ ।।