२९ पुस,घोराही।
भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै दाङ जिल्लामा उच्च सतर्कता अपनाइएको छ । भारत र अन्य जिल्लाहरुबाट बैध तथा अबैधरुपले पन्छीजन्य बस्तुहरु भित्रिने अबस्था रहेको भन्दै स्थानिय प्रशासन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले उच्च सतर्कता अपनाएको हो ।
विज्ञ केन्द्र दाङले आज घोराहीमा सरोकारवालाहरु सँग बर्डफ्लु सम्बन्धि समन्वय बैठकको आयोजना गरि सबै पक्षलाई सतर्क र साबधानी अपनाउन आग्रह गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बर्ड फ्लु भित्रिन नदिन सीमा क्षेत्र सँगै दाङ प्रबेश गर्ने नाकाहरुमा विशेष सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
भारतबाट आउने पन्छी र पन्छीजन्य वस्तु दाङ जिल्लामा ल्याउनमा निषेध गरिएको उहाँको भनाई छ । कोइलाबास नाका सँगै अन्य साना नाका तथा अमिलिया र भालुबाङ क्षेत्रमा पंक्षिजन्य बस्तुहरुको कडाई साथ जाँच भैरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले पंक्षिजन्य बस्तुहरुको ओसारपसारमा विषेश निगरानी बढाईएको र व्यवसायीहरुलाई समेत सचेत पारिएको जानकारी दिनुभयो । बर्डफ्लु भित्रन नदिन प्रहरी प्रशासन, स्थानिय तह र किसानहरुको सहकार्य आबस्यक हरेको उहाँको भनाई छ ।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले अनुगमन र निगरानी बढाउने गरी सरोकारवालाहरुलाई खट्न आग्रह गर्नुभयो । कार्यक्रममा भालुबाङमा स्थित पशु क्वारेन्टिनलाई प्रभावकारी बनाउन स्थानिय तहका पशुसेवा शाखाका प्रमुख एवं कुखुरा पालक किसानहरुले माग गरेका छन् ।
साथै दाङको देउखुरी क्षेत्रमा विभिन्न ठाउँहरुबाट चराहरु बसाईसराई गरी आउने भएकाले रोगको अर्को चुनौती थपिएको सहभागिहरुको भनाई छ । कार्यक्रममा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निमबहादुर बुढाथोकी र देउखुरी समितिका अध्यक्ष अर्जुनकुमार अधिकारीले दाङ जिल्ला मासु र अण्डामा आत्मनिर्भर रहेको जानकारी दिनुभयो । तर लुकिचोरी आयात हुने गरेको र त्यसले जोखिम बढाएको उहाँहरुको भनाई छ ।।