२९ पुस,घोराही ।
दाङमा मोवाईल फोन लुटिने क्रम बढ्न थालेपछि प्रहरीले मोवाईल खोजी तथा अनुसन्धान टोली नै बनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अपराध अनुसन्धान शाखा अन्तरगत मोवाईल खोजी तथा अनुसन्धान टोली बनाईएको हो ।
मोवाईल फोन लुटिएको, चोरी भएकोे र हराएको भनि प्रहरीमा निवेदन बढ्न थाले सँगै प्रहरीले यसको खोजी र अनुसन्धान गर्न प्रहरी नायब निरिक्षकको कमाण्डमा खोजी तथा अनुसन्धान टोली परिचालन गरिएको अपराध अनुसन्धान शाखाका प्रमुख, प्रहरी निरिक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
वितेको मंसिर महिनामा मात्रै ५८ वटा मोवाईल लुटिएको, चोरी भएको र हराएको भनि प्रहरी कार्यालयमा निवेदन परेका थिए । त्यसैगरी, चालु आर्थिक बर्षको कार्तिक सम्म ४९ वटा मोवाईल हराएको निवेदन प्रहरीमा आएको र खोजीको क्रम जारी रहेको उहाँको भनाई छ ।
प्रहरीले हालै विभिन्न कम्पनीका १३ थान मोवाईल सेट फेला पारि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । यसरी मोवाईल फोन लुट्ने र चोरी गर्नेको गिरोह नै रहेको प्रहरीको अनुसन्धानले देखिएको छ ।
प्रहरी प्रमुख, प्रहरी उपरिक्षक गणेश चन्दका अनुसार विभिन्न कुलतमा फसेकाहरु यस्तो अपराधमा संलग्न भएको र उनिहरुले चोरी गरी सस्तो मूल्यमा विक्रि गर्ने गरेको पाईएको छ । फोन गर्दै हिडेका व्यक्तिको फोन खोस्ने, पसल तथा घरबाट चोरी गर्ने र फोन गर्नुपर्ने भन्दै बहाना बनाएर भाग्ने गरेको उहाँको भनाई छ ।।