२९ पुस । आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर एकजना होटल रेस्टुरेन्ट सञ्चालकसँग लिएको ४३ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
काठमाडौंको बनस्थली ढुङ्गेधारास्थित टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगरसँग लिएको ४३ हजार रुपैयाँ घुससहित आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कम्प्युटर अपरेटर शर्मालाई घुस लिँदा लिँदै पक्राउ गरेको हो ।
कम्प्युटर अपरेटर शर्मासहित उनलाई घुस दिन रेस्टुरेन्ट सञ्चालक सन्तोष थापा मगरलाई पनि पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।