२६ कार्तिक,घोराही –
नेपालमा चालू आर्थिक वर्षको तीन महिनामा साढे छ अर्ब बराबरको चाडपर्व लक्षित सामग्री आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ६ अर्ब ५२ करोड एक लाखको दशैं, तिहार लक्षित नरिवल, काजु, बदाम, ओखर, सुपारी, तास, भुइँकटर, केरा, खजुर लगाएतका सामग्री आयात भएको हो ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको तीन महिनामै सो रकम बराबरको सामग्री आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी हो ।
गत आर्थिक वर्षमा विभिन्न देशहरुबाट तीन अर्ब ५७ करोड १० लाख रुपैयाँको सामग्री आयात भएको थियो । गत वर्ष कोरोना संक्रमणको जोखिम कायम रहेकाले धेरै मानिसले चाडपर्व उल्लासका साथ नमनाएकाले आयात कम भएको विभागले जनाएको छ ।।