२७ कार्तिक । कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय छठपछि खुल्ने भएको छ । त्यसका लागि तिहारअघि नै कार्यढाँचा जारी गर्ने तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले मंसिर ९ गते सञ्चालन हुने कक्षा १२ को परीक्षाका लागि विद्यालय अनिवार्य खोल्नैपर्ने भएपछि त्यससँग जोडिएको सुरक्षाको मापदण्ड अपनाई विद्यालय खोल्ने तयारी पूरा गरिएको जानकारी दिए ।
कक्षा १२ को परीक्षामा विद्यार्थीले डेढ घन्टाको लिखित परीक्षा अनिवार्य रूपमा विद्यालयमै गएर दिनुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले तय गरेको छ। कुल सय पूर्णाङ्कको परीक्षाका लागि ४० प्रतिशत कक्षा ११ को प्राप्तांक, ४० प्रतिशत कक्षा १२ को लिखित परीक्षा र २० प्रतिशत कक्षा १२ को आन्तरिक परीक्षाको मूल्यांकन हुनेछ ।