२७ कात्तिक । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६४ जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ६९ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।
यस अघि बुधबार ४७७, मंगलबार ५०० , सोमबार ४९४, आइतबार ४८०, शनिबार ४४१ जना आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।
नेपालमा २ लाख ४ हजार २ सय ४२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ६४ हजार ५ सय ९२ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ।