२०८१ चैत्र ११ गते सोमवार

सभामुखको अनुरोध एमाले सांसदले सुनेनन्, बैठक १५ मिनेटका लागि स्थगित



२७ भदौ,काठमाडौ – संसद बैठकमा आज पनि प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै राखेको छ । ‘संसदीय मर्यादा कायम गर’ भन्दै एमाले सांसदहरूले रोस्टम घेराउ गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका छन् ।

प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएसँगै एमालेले निरन्तर विरोध गरिरहेको छ । एमालेले प्रमुखतः सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै आएको छ ।

संसद बैठकअघि सुरु भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अवस्था अनुसार संसद बैठक विरोध गर्न सांसदहरूलाई सुझाएका थिए । ‘पदीय मर्यादा कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायतका नारा सांसदहरूले लगाइरहेका छन् ।

सभामुख सापकोटाले भने संसद चल्न दिनका लागि अनुरोध गर्दै नारा रोक्नका लागि सांसदहरूलाई अनुरोध गरेका थिए । ‘नेपालको संविधानको धारा १०५ ले न्याय निरुपणका लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदभित्र कुनै बहस गर्न बन्देज लगाइएको व्यहोरा जानकारी गराउन चाहन्छु’, सभामुख सापकोटाले भने ।

संसदीय मर्यादा कायम गर भनेर एमाले सांसदहरूले नारा लगाउँदै गर्दा सभामुखले भनेका छन्,‘त्यही मर्यादा कामय गर्न मैले तपाईंहरूलाई निरन्तर भनिरहेको छु’, बैठकमा निरन्तर विरोध गरिरहँदा अन्य सांसदहरूको भनाइ राख्न अवरोध पुगेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

‘आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको पनि सम्मान गर्नुपर्छ । अरू सांसदहरूको समस्याहरू, जनताको बाढी पहिरो लगायतका समस्याहरू बारेमा बोल्नका लागि समय दिनुस् । आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको सम्मान गर्नु सबैभन्दा उच्चतम मूल्यमान्यताको कुरा हो । त्यसकारण यो बैठक सहज तरिकाले चलनका लागि अनुरोध गर्दछु’, सभामुख सापकोटाले भने ।

सभामुख सापकोटाले संसदीय मर्यादा कायम राख्नका लागि आफूले अनुरोध गरेको बताइरहे । तर, एमाले सांसदहरू भने सभामुख सापकोटाको अनुरोधलाई बेवास्ता गर्दै संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहे ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्