२०८१ चैत्र १० गते आइतवार

गठबन्धनबीच मन्त्रालय बाँडफाँटको गृहकार्य, कोको बन्दैछन् मन्त्री ?



२७ भदौ,काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालयमा बाँडफाँटको तयारी तीव्र पारेका छन् । मन्त्रालय बाँडफाँटमा कुरा मिलेमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

“कुन मन्त्रालय कुन दलले पाउने भन्ने निर्णय अझै भइसकेको छैन,” स्रोतले भन्यो, “केही मन्त्रालयमा सबै दलको दाबी छ । पहिले कुन मन्त्रालय कुन पार्टीले पाउने भन्नेमा सहमति हुनासाथ मन्त्रीको शपथ तत्कालै भइहाल्नेछ ।”

एक अनौपचारिक कुराकानीमा ती नेताले भने, “अहिले भएका मन्त्रीको कार्यविभाजन पनि हेरफेर हुन सक्छ ।”आजै बस्ने सत्ता गठबन्धनका नेताको बैठकले मन्त्रालयको भागबण्डा गर्न सकेमा बेलुकासम्ममा शपथ हुन सक्नेछ ।

कांग्रेसबाट नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरीलगायतका नेताको चर्चा रहेको छ । त्यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले उपसभामुख पाउनुपर्ने अडान राखेको छ । उपसभामुखसहित ७ मन्त्रालयमा नेकपा (एस)को दाबी रहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार सत्तारुढ दलको बैठकमा सात मन्त्रालयको विषयमा कुराकानी भए पनि ६ मन्त्रालय दिने तयारी गरिएको बताइएको छ ।

त्यसमध्ये शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादवलगायतको नाम चर्चामा छ ।

तर निर्णय भने भइनसकेको ती नेताले जानकारी दिए ।  उनका अनुसार उपसभामुख पनि आफ्नो पार्टीले लिने विषयमा कुराकानी भएको छ । तर यस विषयमा भने कुनै निर्णय भएको छैन ।

माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्रीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । यसअघि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीले पनि मन्त्रालय हेरेर उपेन्द्र यादवको नेतृत्वमा जाने कि राजेन्द्रप्रसाद श्रेष्ठको भन्ने विषयमा निर्णय गर्ने एक नेताले जानकारी दिए ।। बाह्रखरीबाट

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्