२८ साउन,काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनस्वास्थ्य विद्हरुकै सुझाव अनुसार काठमाडौं उपत्यकामा रात्रिकालीन कडाइ गर्न लागिएको बताउनुभएको छ ।
काठमाडौं उपत्यका कोरोना संक्रमणको दृष्टिकोणले रेडजोनमा पुगिसकेको रिपोर्ट विज्ञहरुले दिएका कारण भविष्यमा भयावहको अवस्था सिर्जना हुन नदिन भोलिदेखि रातको समयमा ८ बजेदेखि सवारी साधन चल्न नदिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
प्रत्येक दिन स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग संक्रमणको जोखिम र यसको रोकथाम तथा नियन्त्रणको उपायबारे समन्वय हुने गरेको उहाँले बताउनुभयो । रात्रिकालीन व्यवसाय होटल, रेष्टुरेण्टहरु सञ्चालन गर्दा स्वास्थ्य प्रोटोकलहरुको पालना हुन नसक्दा भीडभाड बढेर संक्रमण बढ्ने जोखिम देखिएको उहाँको भनाइ छ ।
निषेधाज्ञा अवधिभर सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न पाइने छैन ।
विज्ञप्तिमा खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न, जुलुस, जात्रा महोत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने । पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।
शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने बताइएको छ।
औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्न पाइने छ भने औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने र यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने जनाइएको छ । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने छ।
बढीमा २५ जना परीक्षार्थी राख्नेगरी परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको छ । तर सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने छ।
हाल संक्रमणको दर २० देखि २५ रहेको छ जुन उच्च संक्रमण रहेको विज्ञ बताउँछन् । अहिले प्रत्येक चार जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।