२८ असार, घोराही –
वर्षौं देखि चलिआएको सडकको बीचमै व्यक्तिले घर बनाउन थालेपछि विवाद निम्तिएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं–१० स्थित सौरिकुला सडकखण्डमा सोही ठाउँ निवासी सुुकदेव लहेरले सडककोबीचमै घर बनाउन जग खनेपछि विवाद निम्तिएको हो ।
घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा लहेरले आफ्नो जग्गा पर्ने भन्दै घर बनाउन खाडल खनेका छन् । खाडल खनेपछि सौरिकुलादेखि उत्तरतर्फका नागरिकलाई सवारी सधान सञ्चालन गर्नसमेत समस्या भएको छ ।
सडकको बीचमै खाडल खनिदिएपछि अहिले सवारी सधान सञ्चालन गर्न पनि समस्या भएको स्थानीय सिसहनिया टोलका अध्यक्ष गोविन्द बहादुर न्यौपानेले बताउनुभयो । यसैबिच सुकदेव लहेरले अदालतको आदेशको अवेज्ञा गर्दै सडकको बीचमा घर बनाउन खाडल खनेका छन् ।
उनको उक्त सडकमा जग्गा परेको भएपनि पहिलेदेखिनै सडक बनाइएकाले अब उनले उक्त सडकमा अवरोध हुने गरी कुनै संरचना बनाउन नपाइने अदालतको आदेश छ । जिल्ला अदालत र पुरावेदन अदालतले नै परापूर्वककालदेखि सडकका रुपमा रहेको उक्त जग्गामा अवरोध गर्न नपाइने आदेश दिएको हो ।
बीच सडकमै लहरेले पटक–पटक खाडल खन्दा आफूहरु मर्कामा परेको भन्दै स्थानीयहरु न्याय खोज्न स्थानीय सरकार गुहार्न पुगेका छन् । अदालतको आदेशका विरुद्धमा लहेर गएको र मेलमिलापका लागि स्थानीय सरकारकहाँ आएको स्थानीय गौरी टोलका अध्यक्ष गोपिलाल थारुले बताए । घोराही उपमहानगरपालिकामा मेलमिलाप गर्न भन्दै नगरप्रमुखलाई भेट्न गौरी टोलका स्थानीय आज दिउँसो उपमहानगर गएका थिए ।।