२०८१ जेष्ठ ३० गते बुधवार

कुलपानी हरितपार्कलाई गढवाको पर्यटन केन्द्र बनाउने योजना



 २८ जेठ, घोराही – गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले पालिकामा रहेका जैविक क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रलाई आयआर्जनसँग जोड्ने बताउनुभएको छ । नेपाल स्तम्भकार समाज दाङको आयोजना तथा कुलपानी सामुदायिक वनको सह–आयोजनामा गढवा गाउँपालिका वडा नम्बर १ कुलपानी हरितपार्कमा भएको कार्यक्रममा अध्यक्ष पोख्रेलले समुदाय स्तरमा हुने प्रयासमा कुलपानी सामुदायिक वन समुहले हरितपार्क निर्माणसँगै प्रवद्र्धनमा उदाहरणीय काम गरेको भन्दै जैविक विविधताको संरक्षणसँगै त्यसलाई आयआर्जनको रुपमा विकास गर्न पालिका स्तरबाटै थप योजना बनाउने बताउनुभएको हो ।

समुदाय स्तरबाट गरिएको प्रयासले धेरै राम्रो अभ्यास भईरहेकाले आगामी दिनमा हरित पार्कका लागि पालिकाबाट आवश्यक बजेट विनियोजन गरी थप पूर्वाधार विकासमा लगानी गरिने उहाँको प्रतिवद्धता थियो । उहाँले कुलपानी हरितपार्क जस्तै, जंगलकुटी, चिमचिमे, धानखोला लगायतलाई पनि प्रचार प्रसार गर्दै मुलधारमा ल्याउने काम पालिकास्तरबाट हुने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशको राजधानी रहेको क्षेत्र भएकाले पनि आगामी दनमा कुलपानी हरितपार्कलाई धार्मिक पर्यटनसँग जोडेर अघि बढाउन जरुरी रहेको बताउनुभयो । कुलपानी हरितपार्कलाई गढवाकै अग्रणी पर्यटन केन्द्र बनाउने गरी अबका दिनमा काम हुने उहाँको वचन थियो ।

नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष केबी मसालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद रश्मिराज नेपालीले हिजोका दिनमा गरिएको संरक्षणले कुलपानी क्षेत्रले अहिले आकार बदल्न पाएको बताउनुभयो । सिमसार क्षेत्र भएको हुँदा यहाँको जैविक विविधताका रुपमा महत्वपूर्ण मात्रै नभई धार्मिक पर्यटनका रुपमा पनि विकास गर्न सकिने उहाँको भनाई थियो ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका इन्जिनियर शंकर सुवेदीले कुलपानी हरितपार्कको डिपिआरको काम भईरहेको जानकारी गराउँदै बाल उद्यान, धार्मिक क्षेत्र र वन क्षेत्र अलग बनाएर विशिष्टीकृत रुपमा व्यवस्थापन गर्ने काम हुन लागेको बताउनुभयो ।

उहाँले प्रदेशको राजधानी केन्द्रमा रहेको पार्कलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सक्ने गरी काम अघि बढाउने योजना रहेको जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले हरितपार्कको थप व्यवस्थापनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

हरितपार्कलाई थप व्यवस्थित गर्दै आयआर्जनको गतिलो माध्यम बनाउने मात्रै नभई गढवाको पहिचानका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । २०४६ भन्दा अघिबाटै सो क्षेत्रमा स्थानीयको संरक्षणमा रहेकाले सानो कुटीबाट उठेको पार्क आफैमा विशेष रहेको बताउनुभयो ।

कुलपानी धार्मिक विशेषतासँग जोडिएको हुँदा यहाँ रहेको मन्दिर चौधरी र यादव समाजको धार्मिक आस्थासँग जोडिएको बताउनुभएको छ । कार्यक्रममा रजितराम यादव, रामसुरत यादव, चित्र एमसी, महेश रिजाल, नारायण प्रसाद श्रेष्ठ, हरिप्रसाद पाण्डेय, निमबहादुर थापालगायतले बोल्नुभएको थियो ।

समाजका सचिव नारायणप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्माले व्यक्त गर्नुभएको थियो भने सहजीकरण डा.लोकराज पराजुलीले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्