एजेन्सी।
भारतका विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमणले महामारीको रूप लिँदै गएपछि अस्पतालमा मात्रै होइन, मसानघाटमा समेत पालो कुर्नुपर्ने अवस्था आएको छ ।
नयाँदिल्ली र मुम्बई जस्ता ठूला शहरमा मात्रै होइन, भारतका साना–साना शहरमा समेत कोरोना महामारीले विकराल रूप लिन थालेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि झारखण्ड प्रदेशमा अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने अवस्था आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
झारखण्डको हरमुस्थित मसानघाटमा आइतवार १३ कोरोना संक्रमितको शव ल्याइएको जनाइएको छ । त्यहाँ समयमै पालो नआएपछि जिल्ला प्रशासनको निर्देशनमा शवहरूलाई घाघरा मसानघाटमा पठाइएको थियो ।
एक कोरोना संक्रमित मृतकका छोरा रमेश तिर्कीले भने, ‘म ४० घण्टादेखि बुवाको दाहसंस्कारका लागि प्रतीक्षामा छु, कतैबाट पनि सहयोग पाइएको छैन । शव ल्याएर मसानघाटमा पुगेका एम्बुलेन्स चालक समेत हैरान छन् ।’