३० चैत,घोराही । बुधबार अभिनेत्री रन्जना शर्माले अमेरिकामा निकेश सिलवालसँग दोस्रो विवाह गरिन् । निर्देशक श्याम भट्टराईसँग डिभोर्स भएको लामो समयपछि अभिनेत्री शर्माले निकेश सिलवालसँग दोस्रो विवाह गरेकी हुन् ।
त्यसो त दोस्रो विवाह गर्ने रन्जना पहिलो सेलिबे्रटी होइनन् । थुप्रै नेपाली सेलिब्रेटीहरूले दोस्रो विवाह गरेका छन् । तर आज हामी दुई वर्ष यता दोस्रो विवाह गर्ने ६ सेलिब्रेटीहरूको बारेमा चर्चा गर्नेछौंः
रन्जना शर्मा /निकेश सिलवाल
अभिनेत्री रन्जना शर्माले यही चैत्र २५ गते प्रेमी निकेश सिलवालसँग अमेरिकामा दोस्रो विवाह गरेकी छिन् । उनले निर्देशक श्याम भट्टराईसँग पहिलो विवाह गरेकी थिइन् । निर्देशक भट्टराईसँगको सम्बन्ध विच्छेदपछि उनी लामो समय एक्लै बस्दै आएकी थिइन् । लामो समयदेखि अमेरिका बस्दै आएका रन्जना र निकेश केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
रन्जनाले सेतो गाऊनमा सजिएर क्रिश्चियन परम्पराअनुसार प्रेमी निकेशसँग कानुनी विवाह गरेकी हुन् । उनले विवाहको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।
श्वेता खड्का/विजेन्द्रसिंह रावत
फिल्म ‘कहाँ भेटिएला’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री श्वेता खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह भएको महिना दिनमै रक्त क्यान्सरका कारण श्रीकृष्णको निधन भएको थियो ।
त्यसको ६ वर्षपछि प्रेमी विजेन्द्रसिंह रावतसँग उनले दोस्रो विवाह गरेकी हुन् । उनले यसै वर्ष मंसिर २२ गते धनगढीका विजेन्द्रसँग दोस्रो विवाह गरेकी हुन् ।
अन्जु पन्त/थिर कोइराला
लोकप्रिय गायिका अन्जु पन्तले पनि यसै वर्ष दोस्रो विवाह गरेकी छिन् । उनको पहिलो विवाह गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीसँग भएको थियो । सम्बन्ध विच्छेदको १० वर्षपछि अन्जुले दोस्रो विवाह गरेकी हुन् ।
उनले क्रिश्चियन परम्पराअनुसार प्रेमी थिर कोइरालासँग फागुन १३ गते विवाह गरेकी थिइन् । थिरसंग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी अन्जु आफ्नी छोरीको अनुरोधमा विवाह गरेको मिडियामार्फत् जानकारी गराएकी थिइन् ।
प्रियंका कार्की/आयुष्मान देशराज जोशी
अभिनेत्री प्रियंका कार्कीले २०७६ फागुन १६ गते अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह गरेकी थिइन् । उनले आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् ।
यसअघि प्रियंका कार्कीको विवाह रोचक मैनालीसँग भएको थियो । उनीहरूको सम्बन्ध धेरै लामो समय टिक्न नसकेपछि उनीहरूले सम्बन्ध विछेद गरे । सम्बन्ध विच्छेद भएको लामो समयपछि उनले आयुष्मानसँग दोस्रो विवाह गरिन् । अहिले यी दुई आमा बुबा बन्ने तयारीमा छन् ।
कृति भट्टराई/रोहित पौडेल
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्र्रय अभिनेत्री कृति भट्टराईले २०७६ असार १२ मा रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् ।
कृति भट्टराईको पहिलो विवाह सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग भएको थियो । डिभोर्स भएपछि उनले लामो समय एक्लै बिताइन् । लामो समयसम्म प्रेममा रहेका रोहित र कृतिले प्रेम विवाह गरेका थिए । कृति केही दिन अघि मात्र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा विजयी पनि भएकी छिन् ।
रवि लामिछाने/निकिता पौडेल
सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग २०७६ जेठ २ गते दोस्रो विवाह गरेका हुन् । लामो समय पे्रममा रहेर उनीहरूले दोस्रो विवाह गरेका हुन् । रवि लामिछानेको पहिलो विवाह ईशा लामिछानेसँग भएको थियो । सिधा कुरा जनतासँग कार्यक्रममार्फत् धेरै चर्चा बटुलेका सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेल दुवैको यो दोस्रो विवाह हो ।