३० माघ,घोराही।
दाङमा आज देखी स्वास्थ्य विमा कार्यक्रम लागु भएको छ । स्वास्थ्य विमा वोर्डले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई विमा सदस्यताको कार्ड प्रदान गर्दै स्वास्थ्य विमा कार्यक्रम लागु गरेको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोख्रेलले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानिय तहका प्रमुखहरुलाई विषेश आग्रह गर्नुभयो । विमा कार्यक्रमले रोग लुकाएर बस्ने बाध्यताको अन्त्य र उपचारमा हुदै आएको खर्च घट्ने मुख्यमन्त्री पोख्रेलको भनाई छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले विमा कार्यक्रमले नागरिकको स्वास्थ्य उपचारलाई राज्यले सुनिश्चित गरेको बताउनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य विमा कार्यक्रम ल्याईएको भन्दै उहाँले सबै जनतालाई सहभागि गराईने उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य विमा बोर्डका अध्यक्ष डा. सुरेन्द्रराज उप्रेतीले स्वास्थ्य जोखिम न्यूनिकरण गर्दैै पैसाको अभावमा रोगि भएर बस्नु नपर्ने भन्दै यो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
स्वास्थ्य विमाका लागि ५ जनाको परिवार सम्म ३५ सय रुपैयाँ जम्मा गर्ने र सरकारले एक लाख रुपैयाँको विमा गरिदिने छ । ६ जना देखी माथीको परिवार सदस्य भए प्रति सदस्य ७ सय रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँको विमा सरकारले गर्ने छ ।
सरकारले अति गरिव, पूर्ण अपांगता, क्षय तथा कुष्ठ र एचआईभी संक्रमित र ७० बर्षभन्दा माथीका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँ सम्मको निशुल्क विमा गर्ने समेत उहाँले जानकारी दिनुभयो । त्यस्तै महिला स्वास्थ्य स्वयसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ ।।