३० माघ,दाङ।
दाङमा जुवातासका घटना बढ्दै गएका छन् । रमाइलोका नाममा खेलिने जुवातास हाल विकराल समस्याका रुपमा बढ्दै गएको हो । जिल्लामा बितको डेढ वर्षको अवधिमा १ सय ४३ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक बर्ष २०७६/७७ मा जुवातासका आठ ओटा मुद्वा दर्ता भएका छन् ।
ति मुद्धामा ६४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुको साथबाट ८ लाख ८९ हजार नौ सय २१ रुपैया बरामद भएको छ । त्यसैगरी उनीहरुलाई कारवाही स्वरुप ८ लाख ३८ हजार ६ सय जरिवाना असुल गरिएको छ ।
त्यस्तै चालु आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तसम्ममा जुवातास सम्बन्धि ११ वटा मुद्वा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जुवातास खेलेको आरोपमा ७९ जना पक्राउ परेका छन् । गतवर्षको तुलनामा यसवर्ष धेरै जुवाडेहरु पक्राउ परेका छन् । गतवर्ष एक वर्षको अवधिमा ६४ जना पक्राउ परेकोमा यस वर्ष ६ महिनाको अवधिमै ७९ जना पक्राउ परेका हुन ।
पक्राउ परेका बाट १६ लाख ५० हजार ४५० नगद बरामद गरिएको छ भने जरिवाना स्वरुप १० लाख २५ हजार ४०० राजस्व संकलन भएको प्रबक्ता रिजालले जानकारी दिनुभयो ।।