२०८१ चैत्र १० गते आइतवार

छुरा प्रहार गरी साथीको हत्या



२८ पुस । छुरा प्रहार गरेर आफ्नै साथीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बुढानीलकण्ठ १ मा गत पुस २३ गते स्थानीय राजसिंह ठकुरीले आफ्नै साथी सुशील तामाङलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी वृत्त महराजगन्जका डीएसपी रोशन खड्काले बताए ।

उनका अनुसार पुस २३ गते सामान्य विवाद हुँदा बुढानीलकण्ठ १ मा ठकुरीले तामाङलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका २१ वर्षीय तामाङलाई थप उपचारका लागी उनैले नजिकैको अस्पताल लगेका थिए । त्यहाँ उपचार नसकेपछि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो ।

उपचारकै क्रममा तामाङको पुस २६ गते मृत्यु भएको डीएसपी खड्काले बताए । प्रहरीका अनुसार छुरा प्रहारबाट तामाङको तीघ्रा र अण्डकोषमा चोट लागेको थियो । छुरा प्रहारपछि फरार रहेका ठकुरीलाई प्रहरीले चितवनबाट पुस २७ गते नियन्त्रणमा लिएको छ ।

पीडित परिवारले ठकुरीसिहत अन्य २ जनाविरुद्ध किटानी जाहेरी दिएको डीएसपी खड्काले बताए । ठकुरी अहिले हिरासतमा छन् भने घटनामा संलग्‍न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्