२८ पुस,काठमाडौँ । कोरोनाविरुद्धको खोप ल्याउन तदारुकता नदेखाएकामा चौतर्फी आलोचना खेप्दै आएको सरकारले समयमै खोप ल्याएर निःशुल्क लगाउने दाबी गरेको छ ।
‘खोप उपलब्ध भएको एक सातामै अभियानका रूपमा लगाउन सकिनेछ’, कार्यभार सम्हालेको दुई सातापछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘मन्त्रालयका तीन वटामध्ये कोभिडविरुद्घको खोप ल्याउने पहिलो प्राथमिकता हो । खोप ल्याउने मिसनकै रूपमा सरकारले काम अघि बढाउनेछ ।’
हालसम्म सरकारले खोपको प्रि–बुकिङ गरेको छैन । तर उनले आमजनतालाई खोप आउनेमा ढुक्क रहन आग्रहसमेत गरे । ‘त्यो पनि समयमै र पारदर्शी ढंगबाट ल्याइएको खोप सरकारले सबैलाई निःशुल्क रूपले लगाउन अभियान चलाउनेछ र खोपको वितरणसमेत न्यायपूर्ण ढंगबाट हुनेछ,’ मन्त्री त्रिपाठीले भने । उनले विभिन्न मुलुकसँग निकटतम् सम्बन्ध राखेर खोप ल्याइने र त्यसक्रममा रुस र भारतका राजदूतसँग कुराकानी भएको जानकारी दिए । सरकारले विभिन्न देशलाई कूटनीतिक नोट पठाए पनि खोप ल्याउन ठोस कदम भने चालेको छैन ।
‘अन्य छिमेकीभन्दा धेरै पछाडि रहने अवस्था छैन,’ भारत र चीनमा खोप कार्यक्रम सुरु भएको संकेत गर्दै त्रिपाठीले भने, ‘हरेक च्यानल हरेक सम्भावनालाई अगाडि बढाउँदै छौं ।’ सरकारले कसरी पहल गरिरहेको छ भन्नेबारे उनले स्पष्ट खुलाएनन् । खोप खरिदका लागि अर्थ मन्त्रालयले रकम सुनिश्चित गरिसकेको जानकारी दिँदै बजेटको अभाव नहुने पनि बताए ।, यो खबर कान्तिपुर दैनिकमा छ।