२०८२ बैशाख १० गते मङ्गलवार

दाङका ट्याक्टर चालकको मृत्यु, प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै स्थानीद्धारा विरोध



२६ मंसिर ।
विनयी त्रिवेणी–२ को पहेलीभित्ता स्थित विनयीखोलामा मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्र्याक्टर चालकको मृत्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको छ । प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका लु३त ८१७५ नम्बरको ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । स्थानीयवासीले भने प्रहरीको कुटाइका कारण चालकको ज्यान गएको भन्दै विरोधमा उत्रिएका छन् ।

दुर्घटना हँदा दाङको राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए । ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको उनले बताए । प्रहरीले चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् । राति ११ बजेको समयमा खोलामा घटना घटेको हो । चालक नयाँ भएको र बाटोबारे ज्ञान नहुँदा भाग्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बमले बताए ।

स्थानीयवासीले भने प्रहरीले खोलामा पिटेर घाइते बनाएका कारण उनको मृत्यु भएको भन्दै राति १ बजेदेखि राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । यस क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । राति झडपको अवस्था आएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन १३ सेल अश्रुग्याससमेत प्रहार गरको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्