२५ कात्तिक,घोराही –
कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतको प्रत्यक्ष पहुँचमा रहेका छन् ।
बाँकी १३ लाख अर्थात ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा छन् । १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका हुन् । केही वर्ष पहिलेसम्म कर्णालीका ७२ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर थिए ।
पछिल्लो समय प्रदेश तथा स्थानीय सरकारले साना तथा लघु जलविद्युत् र सौर्य ऊर्जा निर्माण गरेपछि पाँच प्रतिशतले घटेको भौतिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रदेशका जिल्लामा ग्रामीण विद्युतीकरणका लागि ४२ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।।