२०८१ चैत्र १० गते आइतवार

उरै नाकाबाट मनपरि तस्करी



२६ कार्तिक । चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन ।

उसो त चीन सरकारले कोरोना महामारीका कारण गत जनवरीदेखि नै उरै नाका सिल गरेको छ । हुम्ला, दार्चुला र बझाङका बासिन्दालाई तिब्बत प्रवेशमा निकै कडाइ गरिएको छ । व्यापार व्यवसाय र मजदुरीका लागि तिब्बतको ताक्लाकोटमा रहेका नेपाली गत वर्षदेखि नै फर्कन पाएका छैनन् ।

जडीबुटी र वन्यजन्तुका अंगहरू अवैध रूपमा तिब्बत ओसार्न भने कुनै रोकटोक छैन । ‘वैशाख–जेठतिर अलिअलि गए पनि असारदेखि ठूलो मात्रामा जडीबुटी उरै नाकाबाट पास भएको छ,’ जडीबुटी व्यवसायीसमेत रहेका साइपाल–४ धुलीका पासाङ लामाले भने, ‘यार्चागुम्बु, वन लसुन, सतुवा, कटुकी, रातो च्याउजस्ता जडीबुटीको ओसारपसार अहिले पनि भइरहेको छ ।’ लामाका अनुसार ताक्लाकोटमा रहेका नेपालीले त्यहाँका व्यापारीहरूसँग सेटिङ मिलाउँछन् र नेपालमा रहेका तस्करले जडीबुटी सीमासम्म पुर्‍याइदिन्छन् ।

दुई वर्षअघिसम्म तस्करहरूले नेपालको सीमाबाट दुई दिन पैदल दूरीमा रहेको चीनको पुराङ काउन्टीमा रहेको लुक्पु (बझाङीले कठान भन्छन्) सम्म जडीबुटी, वन्यजन्तुका अंगलगायत सामान पुर्‍याउने गरेका थिए । चीन सरकारले गत वर्ष नेपाल–चीन सीमामा पर्ने उरै नाकासम्म सडक पुर्‍याएपछि भने सीमामै कारोबार हुन थालेको धुलीका साम्देन लामाले बताए । ‘यताबाट भेडा, खच्चड, चौंरी र भरियालाई बोकाएर जडीबुटी र वन्यजन्तुका अंग उरैसम्म पुर्‍याउँछन् । उताका व्यापारीहरू गाडी ल्याएर सीमासम्म आउँछन् । त्यतैबाट कारोबार गरेर फर्किन्छन्,’ उनले भने ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्