२०८१ साउन ३ गते बिहिवार

दाङमा अक्सिजन अभाव, एउटा सिलिण्डर दुई जनालाई



 २८ बैशाख,घोराही-दाङमा अक्सिजन अभाव भएको छ । दाङको शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेशनमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने अवस्था छ ।

आइसोलेशनमा कोरोना सङक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर अभाव भएपछि एउटा अक्सिजन सिलिण्डर र एउटै अक्सिफ्लो मिटरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो ।

आइसोलेशनमा सङक्रमित बिरामीको चाप धेरै हुनुका साथै अक्सिजनको अभाव भएको संयोजक पुनले बताउनु भयो । आइसोलेशनमा अक्सिजनको अभाव भएको समयमा अक्सिजन सिलिण्डर रिफिलको पनि समस्या देखिएको छ । तुलसीपुरमा रहेको एक मात्र अक्सिजन सिलिण्डर रिफिल गर्ने सप्लायर्सले रिफिल नगर्ने जनाएको छ ।

पालिकालाई अक्सिजन सिलिण्डर रिफिल नगरी दिने र समन्वय गरेर आए मात्र रिफिल गर्ने भनेकाले झन समस्या उत्पन्न भएको संयोजक पुनले बताउनुभयो । दाङका सबै पालिकाले अक्सिजन सहितका अस्पताल बनाए पनि अक्सिजन आपूर्ति हुन सकेको छैन । बेलझुण्डी कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा पनि अक्सिजन अभाव रहेको अस्पतालले जनाएका छन् । शान्तिनगरमा बैशाख यता ७३ जनामा संक्रमण देखिएको छ भने अहिले स्वास्थ्य चौकीमा ८ जनाको उपचार भैरहेको छ । आईशोलेशन सेन्टरमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने बाध्यता छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्