२०८१ साउन ३ गते बिहिवार

लुम्बिनी प्रदेशमा सक्रिय संक्रमित ३ सय नजिक



२९ चैत,घोराही।
लुम्बिनी प्रदेशमा कोरोना संक्रमणदर पछिल्लो समय फेरि बढ्नथोलेको छ । प्रदेशमा पछिल्लो एक सातामा मात्रै १सय३५ जना नयाँ संक्रमित थपिएका छन् ।

एक साता अघि प्रदेशमा १५२ सक्रिय संक्रमित रहेकोमा चैत २८ मा आइपुग्दा १३५ नयाँ संक्रमित थपिएर कुल सक्रिय संक्रमित २८७ पुगेको छ ।

भारतसंग सिमा जोडिएका प्रदेशको राजधानी दाङसहितका जिल्लामा कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेको हो । छिमेकी देश भारतमा कोरोनाको संक्रमणदर बढेपछि खुल्ला सिमानाका कारण भारतबाट नागरिकहरु बिना जाँच घर फर्किदा कोरोनाको जोखिम बढ्न थालेको छ ।

प्रदेशको जनस्थ्य निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्ला मध्ये रुकुमपूर्व र गुल्मी बाहेक दश जिल्लामा अहिले २८७ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

भारतसंग सिमा जोडिएका दाङसहित बाँके, रुपन्देही, नवलपरासी पश्चिम लगायतका जिल्लामा संक्रमितको संख्या बढेको प्रदेशको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाँकेमा पछिल्लो तथ्यांक अनुसार ९६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै रुपन्देहीमा पछिल्लो तथ्यांक अनुसार ८२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् । यतादाङमा पछिल्लो समय ३९ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

तथ्यांकलाई हेर्दा प्रदेशमा भारतसंग सिमा जोडिएका जिल्लामा बढी कोरोना संक्रमण देखिएको छ । लुम्बिनी प्रदेशमा अहिले दैनिक ४० जना संक्रमित थपिने गरेका छन् ।

प्रदेशमा अहिले कुल संक्रमितको संख्या २७ हजार ८ सय ८९ पुगेको छ भने कोरोनाबाट ४१५ जनाको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म २७ हजार १८४ जना कोरोना संक्रमित निको भएका छन् ।।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्