२७ पुस, घोराही- प्युठानमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन् । लुम्बिनी प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत ऐरावती गाउँपालिका ६ बिजुलीकोटमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा जोडिएका हुन् ।
चार वर्षसम्म सञ्चालन भएको कार्यक्रमबाट गाउँमा ६९ वटा पक्की टनेल र ६३ वटा कच्ची टनेल, १२ वटा सिँचाइ कुलो निर्माण, नौ वटा पक्की सिँचाइ पोखरी निर्माण, ३७ वटा मिनिटिलर वितरण भएको बिजुलीकोट स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष श्याम थापाले बताउनुभयो ।
त्यसैगरी किसानले विभिन्न तालिम, परामर्श समेत पाएका छन् । उक्त कार्यक्रम अन्तर्गत दुई करोड ११ लाख ५४ हजार रुपियाँको कार्यक्रममा प्रदेश सरकारले १ करोड १५ लाख रुपियाँ लगानी गरेको थियो ।
प्युठानकै माण्डवी गाउँपालिका २ मा मर्कावाङ स्मार्ट कृषि गाउँ कार्यक्रमबाट टमाटर खेती गर्ने किसान लाभान्वित भएका छन् । राम्रो टमाटर उत्पादन हुने मर्कावाङमा कार्यक्रमले किसानलाई आवश्यक पर्ने थप पूर्वाधार र कृषि सामाग्री उपलब्ध गराएर सहयोग गरेको किसान हेमराज अधिकारीले बताउनुभयो ।
जिल्लामा ०७५–०७६ बाट स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएको हो । चार वर्ष अवधिको उक्त कार्यक्रम अन्तर्गत किसानले तरकारी, फलफूल, बाख्रापालन गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन भएको कार्यक्रम ०८०–०८१ देखि सम्पन्न भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ ।। गोरखापत्र अनलाईनबाट