२०८१ चैत्र १३ गते बुधवार

सल्यानमा सडक मानवको उद्दार



२७ पुस,घोराही ।जिल्लाका विभिन्न ठाउँमा सडकमा जीवन बिताइरहेका ९ जनाको उद्दार गरिएको छ। मानव मुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरूको उद्दार गरिएको हो।

सदरमुकाम खलंगा, श्रीनगर, छत्रेश्‍वरी लगायतका विभिन्न ठाउँमा सडकमा अलपत्र परेकाहरूलाई निल सागर असहाय असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्ज पठाइएको रेस नेपाल सल्यानकी कार्यक्रम संयोजक मीना बुढाथोकीले बताइन्‌। खुला आकाशमुनि हिउँदको कठ्याङ्ग्रिने चिसो खेपिरहेका मानिसहरूको पीडाबोध गरी ९ जनालाई नेपालगञ्ज पठाइएको उनको भनाई छ।

 

सल्यानका सडकमा अझै धेरै मानिस अलपत्र परेकाले उनीहरूको पनि उद्दार गरिने शारदा नगरपालिका सल्यानका नगरप्रमुख सुरेश अधिकारीले बताए। सडकमा नारकीय जीवन बिताइरहेका मानवहरूको उद्दारमा हातेमालो गर्न उनले सबैलाई आग्रह समेत गरेका छन्‌।

कर्णाली प्रदेश सरकारले एक वर्षअघि प्रदेशलाई सडक मानव मुक्त प्रदेश घोषणा गरिसकेको छ।

 

 

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्