२७ पुस,घोराही । दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशका विभिन्न स्थानमा विविध कार्यक्रममा साथ मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा जन्मनुभएका शाहकालिन राजा पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप उहाँको स्मरण गर्न लागिएको हो ।
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका अभियन्ताको रुपमा सम्झने गरिन्छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोरा शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिरहँदा आलोचना पनि उत्तिकै हुने गरेको पाइन्छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै शाह राष्ट्र निर्माता नभएको तर्क पनि प्रस्तुत गर्ने गरेका छन् ।