२०८१ मङ्सिर १६ गते आइतवार

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले मन्त्रीको नाम टुंगाए



२४ असोज, घोराही –
लुम्बिनी प्रदेश सरकारमा कांग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने बन्नु हुने भएको छ । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो यसअघि नै लागेको थियो ।

कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् । कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमा मन्त्री पाल्पाका वीरबहादुर रानालाई बनाउन लागिएको छ । यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट कपिलवस्तुकी रिना नेपाल विकलाई पठाउने निर्णय कांग्रेसले गरेको छ । यी दुई जनाको नाम पार्टी केन्द्रबाट टुंगो लागेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले बताउनुभयो । यसअघि वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँलाई पठाउने कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरिसकेको थियो ।

माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

दुई महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा जनस्तरबाट दलहरु र सरकारको चौतर्फी आलोचना हुने गरेको छ । १३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्