२०८१ चैत्र १० गते आइतवार

सरकारले दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने



२५ भदौ, काठमाण्डाै – सरकारले क्यान्सर, मिर्गौला, गम्भीर मेरुदण्ड पक्षघातलगायतका दीर्घ रोगीलाई महिनाको पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ ।

आज शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालको चुनावअघि निर्णय गरे पनि कार्यान्वयनमा नगएको दीर्घ रोगीलाई भत्ता दिने योजना यस पटक बजेटमार्फत आएको हो । यो योजनालाई चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गरेको थियो । यो कार्यक्रमबाट झन्डै एक लाख जना लाभान्वित हुने सरकारको अनुमान छ ।

यस्तै बजेटमा विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा बलिदान गर्ने परिवार अर्थात् शहीद परिवारलाई जीवनवृत्ति स्वरूप महिनाको तीन हजार रुपैयाँ प्रदान गर्ने पनि उल्लेख छ ।

सरकारले कोरोना महामारीका कारण काम गुमाएका पाँच लाख गरिब परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ सहयोग दिने पनि बजेटमा उल्लेख छ ।

नेकपा एमालेका सांसदको नाराबाजी र अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो । अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

कुल विनियोजनमध्ये सङ्घको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् ४१ दशमलव ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब १० करोड रुपैयाँ अर्थात् २३ दशमलव १६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११ दशमलव ६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८७ अर्ब ३० करोड अर्थात २३ दशमलव ७२ प्रतिशत बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्