२०८१ साउन ५ गते शनिवार

रवि लामिछानेको पासपोर्ट र सहकारी काण्डमा छानबिन गर्न आयोग बन्नुपर्छ : ढकाल



२६ असार, काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले रवि लामिछानेले गरेका काण्डबारे छानबिन गर्न आयोग बनाउनु प्रस्ताव गरेका छन्। पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट कारबाहीमा परेपछि पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि पासपोर्ट र सहकारी ठगीका विषयमा छानबिन गर्न आयोग बन्नुपर्ने बताएका हुन्।

उनले लामिछानेमाथि छानबिन गर्न गठित संसदीय समितिले मात्रै नहुने बताए। पार्टीले पनि उनीमाथि छानबिन गर्नुपर्ने उल्लेख गरे।

‘लामिछानेमाथि छानबिन गर्न पार्टी पनि समिति बनाउनुपर्छ। अब संसदीय छानबिन समितिले हुँदैन, पार्टी पनि गर्नुपर्छ, ढकालले भने, ‘पासपोर्ट बारे छानबिन गर्न पनि उच्चस्तरीय आयोग बनाउनुपर्छ। कानुनी हिसाबले गल्ती गरे पनि राजनीतिक हिसाबले बचाउनुपर्छ भनेर लागियो। अब उनीमाथि छानबिन हुनुपर्छ।’

ढकालले रवि लामिछाने जुन पदमा बस्यो त्यो पदले गल्ती गर्ने नगर्ने भन्दै व्यंग्य गरे। निलम्बित ढकालले पार्टीको आर्थिक क्रियाकलापमाथि पनि प्रश्न उठाए। उपाध्यक्ष डिपी अर्यालले पार्टीमा आएको सहयोगको दुरुपयोग गरेको आरोप लगाए। उनले भने, ‘पार्टीलाई आएको सहयोग डिपी अर्यालले आफ्नो गोजीमा हालेका छन्। अस्ति मात्रै पनि त्यस्तै भयो। अरुले क्यासको कारोबार नगर्नु होला, बिलबाट मात्रै कारोबार गरिदिनु होला। पार्टीका आर्थिक हिसाब किताब क्लिएर गर्नुपर्छ।’

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्