२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा पनि देखियो नाईरोबीको संक्रमण, तीनजनामा लक्षण



२६ असार, दाङ – दाङमा पनि नाईरोबी फ्लाई किराको संक्रमणदेखिन थालेको छ । यो किराको संक्रमणबाट तुलसीपुरका तीनजनामा रातो दागसहितको एलर्जीको समस्या देखिएको छ । किराको संक्रमणले सामान्य एलर्जी भएको र शरीरमा फैलिदै गए उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव चिकित्सहरूले दिएका छन् ।

अन्य जिल्लामा देखिएको नाईरोबी फ्लाई किराको संक्रमण तुलसीपुर उपमहानगरपालिका–१० राइखलियानका तीनजनामा पनि देखिएको छ । उनीहरूमा एसिडले पोलेको जस्तो हुने, दाग देखिने, जनै खटिराजस्तो फोका आउने, रातो दागसहितको एलर्जीको समस्या देखिएको छ ।

किराको संक्रमण देखिएका अर्पण आचार्यले राति सुत्दा केही नभएको तर बिहान उठ्दा रातो दाग देखिएको र चिलाउँदा जनै खटिराजस्तै आकार लामो हँुदै गएको बताए । उनका अनुसार यो समस्या गाउँका अन्य दुईजनालाई पनि देखिएको छ ।

नाईरोबी फ्लाई किराले टोक्दा अथवा त्यसले छालामा स्पर्श त्यसमा रहेकोे एक प्रकारको रसायनका कारणले छालामा दाग, घाउ, खटिराहरू देखिने छालारोग विशेषज्ञ डाक्टर प्रताप पोख्रेलले बताए । किराको स्पर्शले देखिने समस्या सामान्य एलर्जी भएकाले आत्तिनु नपर्ने उनले बताए ।

शरीरमा बढी मात्रमा फैलिएमा भने नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार प्रत्येक वर्ष यो समस्या देखिदै आएको भएपनि यसवर्ष भने बढी देखिएको पाइएको छ ।

यो किरा विशेषगरेर रातको समयमा देखिने भएकाले रातमा सुत्दा राम्रोसँग झुल लगाएर सुत्न, पूरै शरीर छोपिने गरी कपडा लगाएर सुत्नसमेत सुझाव दिएका छन् । यो किरा अफ्रिकी मुलुक हुँदै नेपाल प्रवेश गरेको जानकारहरू बताउँछन् । नाईरोबी फ्लाई बिटर्स प्रजातिको किटाणु रहेको किराको संक्रमण भयावह बन्न थालेकोले सावधान अपनाउन डाक्टरको सुझाव छ ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्