२०८१ असार २ गते शनिवार

तुलसीपुरमा नमूना नगरसभाको अभ्यास



२८ जेठ, दाङ – युवाका सवालमा के कस्ता नीति तथा कार्यक्रमहरु ल्याउन सकिन्छ भन्ने विषयमा सन्देशमूलक जानकारी दिंदै स्थानीय सरकारलाई सचेत र युवाहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बनाउन नमूना युवा नगरसभाले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

युवालय संस्थाको आयोजना तथा नगर युवा सञ्जाल र स्थानीय युवा परिषद् तुलसीपुरको सहकार्यमा आइतबार आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले सबै तहको नेतृत्वमा युवा सहभागिताको आवश्यकता भएको भन्दै त्यसका लागि युवा सशक्तीकरण अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कार्यक्रमले अब हुने नीति तथा कार्यक्रममा युवाहरुलाई प्रोत्साहन गर्न के कस्ता कार्यक्रमहरु हुन सक्छन् ? तिनको पहिचान गर्ने तथा ती माग कसरी समावेश गर्ने ? राजनीतिक नेतृत्वमा मात्रै नभई हरेक क्षेत्रको नेतृत्वमा युवा सहभागिता किन आवश्यक छ भन्ने जानकार र त्यो सहभागिताका लागि अब्बल जनशक्ति तयार हुन सकून् भन्ने विश्वास लिएकी छु ।’

हरेक वर्ष आउने नीति कार्यक्रम तथा बजेटमा युवालाई निराशा गराउने काम भएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले अब युवाहरुले समाजका जुनसुकै क्षेत्रमा पनि आफ्नो नेतृत्वदायी भूमिका खोज्ने समय आइसकेको अवस्थामा नमुना युवा नगरसभाको अभ्यास अर्थपूर्ण हुने धारणा राख्नुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का पूर्ववडाध्यक्ष नवराज लामिछानेले सपना देख्ने अनि निर्णय लिने र त्यसमा समर्पित हुनेहरु सफल व्यक्ति बन्नसक्ने भन्दै त्यो शक्ति युवामा भएको धारणा राख्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका १९ वडाका युवाहरुको सहभागिता छ । तालिममा उनीहरुले कार्यपालिकामा प्रस्तावहरु कसरी लगिन्छ, पारित गर्ने प्रक्रिया, नगरसभाको प्रक्रियालगायत स्थानीय सरकार सम्वद्ध गतिविधिबारे जानकारी लिने नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो । नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, प्रवक्ता माधव वली, विधान समिति संयोजक भीमबहादुर योगी, प्रमुख कार्यकारी अधिकृत गेहेन्द्रबहादुर बस्नेतलगायतले बोल्नुभएको थियो । कार्यक्रम मंगलवारसम्म चल्ने आयोजकले बताएको छ । ओराही अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्