२०८१ असार २ गते शनिवार

रोल्पामा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले प्रोत्साहन रकम पाउने



२८ जेठ, रोल्पा- रोल्पा जिल्लामा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले प्रोत्साहन रकम पाउने भएका छन् । आइतबार बालकल्याण नमूना माध्यामिक विद्यालयले आयोजना गरेको जनप्रतिनिधि र पत्रकारसँग राय–सुझाव संकलन कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापाले सो कुरा बताउनुभयो ।

२०६७ सालबाट बालकल्याण नमूना विद्यालयले विज्ञान विषय पढाउदै आएकोमा विद्यार्थीको संख्या नबढ्नु सबैको चिन्ताको विषय बनेको थापाको भनाई छ । जिल्लामा विज्ञान र गणित विषय पढाउने शिक्षकको समेत अभाव हुदै गएको बताउनुभयो । यस अवस्थामा नगरपालिकाको कार्यसमिति मै शिक्षालाई कसरी माथि उठाउन सकिन्छ भन्ने, सन्दर्भमा विज्ञान र गणित विषयको प्रर्वद्धन गर्नको लागि जिल्लाभरको माध्यामिक विद्यालयबाट ‘बेष्ट अफ फाईल’ ल्याउने र २० देखि २५ हजारसम्म प्रोत्साहन रकम दिने निर्णय भएको नगर प्रमुख थापाले धारणा राख्नुभयो ।

जिल्लाको नमूनाको रुपमा रहेको विद्यालयमा अहिले ११ र १२ कक्षामा ४५० जना भन्दा माथि विद्यार्थीले अध्ययन गरिरहेका छन् । ११ र १२ कक्षामा विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या अरु विषयमा भन्दा कम रहेको छ ।

बाल कल्याण नमूना विद्यालय जिल्लाको नमूना विद्यालयको रुपमा परिचित छ । तर विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या भने न्युन देखिएको छ । ४६ जना विद्यार्थी भर्ना भएकोमा अनिवार्य कक्षा लिने विद्यार्थीहरु कक्षा ११ मा २७ र १२ कक्षामा १३ जना गरि ४० जना विद्यार्थीले मात्र विज्ञान विषय अध्ययन गर्दैछन् ।

कार्यक्रममा सहभागिहरुले ग्रामिण भेगका विद्यार्थीको पहिले देखिको जग बलियो नभएको बताए । पछिल्ला समय विद्यालयमा पढाउने शिक्षकको कमी हुनु र विद्यालयको वातावरण प्रभावकारी नदेखिएकाले पनि जिल्लामा विज्ञान विषय पढ्ने विद्यार्थी कम हुन गएको समेत उनीहरुको भनाई थियो ।

विद्यालयमा विद्यार्थीलाई आवश्यक पर्ने आई।सि।टि, ल्याव सँग विद्यार्थीलाई जोड्न सकेमा पनि विद्यार्थीलाई आकर्षित गर्न सकिने सहभागीले सुझाव दिएका थिए । साथै विज्ञान विषय अध्ययन गर्नको लागि विद्यार्थीलाई पढ्ने सहज वातावरण, शिक्षकको व्यवस्थापन गर्न तर्फ विद्यालयले दिने हो भने विद्यार्थीको संख्यामा बृद्धि हुने पनि उनीहरुको सुझाव थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मशुसुदन पोख्रेलले विज्ञान विषयलाई प्रर्वद्धन गर्नको लागि यस कार्यक्रमबाट आएका राय–सुझावलाई योजना बनाई कार्यान्वयन गर्ने बताउनुभयो ।
कक्षा ११ र १२ मा सञ्चालन भईरहेका भौतिक, रासाायनिक र जीव विज्ञान विषयको प्रर्वद्धन गर्नको लागि विद्यालयको सो कार्यक्रमको आयोजना गरिएको पोख्रेलले भनाई थियो ।

विद्यालयको तर्फबाट विकास योजना गर्नुपर्ने र त्यो विकास निमार्णको नेपाल सरकारमा गई सकेपछि रकम विनियोजन गर्ने सरकारको प्रक्रिया अनुसार विद्यालयले कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्