२०८१ भाद्र २९ गते शनिवार

सुँगुरको मुटु प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको मृत्यु




२६ फागुन, काठमाडौँ — विश्वमै पहिलो पटक प्रत्यारोपणमार्फत सुँगुरको मुटु प्राप्त गरेका अमेरिकी नागरिक डेभिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणमार्फत प्राप्त गरेको दुई महिनापछि उनको मंगलबार अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मृत्यु भएको हो ।

मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जारी गरेको वक्तव्यअनुसार केही दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको थियो । अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन ।

बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा। बार्टली ग्रिफिथले भनेका छन्, ‘बेनेटको निधनले हामी मर्माहत भएका छौं । उहाँ एक साहसी र भद्र बिरामी हुनुहुन्थ्यो । जो जीवनको अन्त्यसम्म पनि लडिरहनुभयो ।’

त्यस्तै मेरिल्यान्ड विश्वविद्यालयका एनिमल–टु ह्युमन ट्रान्सप्लान्ट प्रोग्राम’ का निर्देशक डा। मुहम्मद मोहिद्दीनले बेनेटप्रति श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘बेनेट साहसी व्यक्ति हुनुहुन्थ्यो । उहाँको योगदानबिना यो प्रक्रिया असम्भव थियो । सुँगुरको मुटु प्रत्यारोपणका लागि आफ्नो शरीर सुम्पन तयार उहाँ अत्यन्तै साहसी हो, जसका लागि धेरै व्यक्ति तयार हुँदैनन् । हामी उहाँको परिवारप्रति पनि आभारी छौं, जसले यी दुई महिनामा निकै साथ दिनुभयो ।’

मानव अंग प्रत्यारोपणमा देखिएको संकट समाधानका लागि यो अनुसन्धान सहयोगी हुने र यसमा अझै खोजी गर्नपर्ने चिकित्सक बताउँछन् । अहिले पनि १ लाख १० हजारको हाराहारीमा अमेरिकामा अंग प्रत्यारोपणको पर्खाइमा रहेका छन् ।

अर्ग्यानडोनर डट जीओभीका अनुसार अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ । बेनेटमा भर्जिनियास्थित रिजेनेरेटिभ मेडिसिन कम्पनी रेभिभिकोरले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु उपलब्ध गराएको हो । चिकित्सकहरूका अनुसार सुँगुरको मुटु र मानिसको मुटुमा धेरै समानता हुनाले प्रत्यारोपण सफल भएको हो ।

सुँगुरका अन्य अंगहरू मिर्गौला, कलेजो र फोक्सो पनि मानिसमा प्रत्यारोपण गर्न सकिनेरनसकिनेबारे अनुसन्धान भइरहेको छ । यसअघि आनुवंशिक भिन्नताका कारण सुँगुरको मुटु प्रत्यारोपण सफल भएको थियो । यस पटक भने वैज्ञानिकहरूले हानिकारक जिनहरू सम्पादन गरेर हटाएका थिए । त्यसपछि मात्रै प्रत्यारोपण सफल भएको बताइएको छ ।। कान्तिपुरबाट

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्