२६ फागुन,काठमाडौं / संसद सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो।
‘पत्र प्राप्त भैसकेको छ’, सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘हामीले त्यहीअनुसार सिट व्यवस्थापन गरिरहेका छौं।’
सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ। एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै लहरको व्यवस्थापन गरिएको पाण्डेले बताए। यसअघि प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसँग सँगै बस्दै आएका थिए। अब पार्टीगत हिसाबले उनीहरूको सिट फरक फरक हुनेछ।