२०८१ फाल्गुन ३ गते शनिवार

योजना कार्यान्वनयमा जनस्तरबाट निगरानी बढाउनुसः मुख्यमन्त्री आचार्य



२६ पुस,गुल्मी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक बर्षमा कार्यान्वयन भइरहेका आयोजनाको निगरानी जनस्तरबाट हुनुपर्ने बताउनु भएको छ । नेकपा एमाले धुर्काेट गाउँपार्टी कमिटिले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक बर्षमा पुरेक बजेट नल्याउने स्पष्ट पार्दै बार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनकालागि जनस्तरबाट निगरानी बढाउनुपर्ने बताउनु भएको हो ।

‘यहाँहरुले दिएका योजनाहरु अर्काे बर्षको बजेटमा प्राथमिकताको आधारमा समावेश गर्नेछौं । यसपाली पुरक बजेट आउदैन । नयाँ बजेट बन्नेबेलामा के कती हुन्छ समेट्ने कोशिस हुन्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘चालु बर्षको बजेट ल्याउदा म अर्थमन्त्री थिएँ । त्यही बजेटनै कार्यान्वयन हुन्छ । बजेट कार्यान्वयनमा यहाँहरुले निगरानी गर्न भने जरुरी छ ।’ मुख्यमन्त्री आचार्यले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पार्नु भयो ।‘चालु बर्षमा पनि यहाँ राम्रै बजेट परेको छ । परेका बजेटको सदुपयोगमा बढी ध्यान दिन जरुरी छ’उहाँले भन्नुभयो,‘योजना पर्ने तर, कार्यान्वयन नहुने, गुणस्तरीय नहुने अवस्था आउनु भएन । राम्रोसंग कार्यान्वयन गर्न यहाँहरुको सक्रियता चाहिन्छ ।’

लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्नेगरी प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा एमाले गाउँपार्टी कमिटिले विभिन्न माग समेटिएको ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्