२६ पुस,जापान – जापानमा पढ्नका लागि गएका रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नम्बर ४ धनमुडाका २६ वर्षीय माधव महरा आफ्नै कोठामा मृत भेटिएका छन् । उनी पौष २३ गते मंगलबार आफ्नै कोठामा मृत अवस्तामा भेटिएको रोल्पा समाज जापानका अध्यक्ष गुरूप्रसाद राना मगरले जानकारी दिनु भएको छ ।
महरा २ वर्षअघि विद्यार्थी भिसामा जापानमा गएको बताइएको छ । जापानको चिवा प्रान्तमा बस्दै आएका उनी केही हप्तादेखि आफ्नो परिवारको सम्पर्कमा थिएनन् ।
परिवारको सम्पर्कमा नआएपछि माधव अध्ययनरत चिवा निक्केन प्राविधिक कलेजलाई परिवारले सम्पर्क गरि खोजिदिन अनुरोध गरेको पारिवारिक स्रोतको भनाई छ । परिवारको अनुरोध पछि कलेजको समन्वयमा उनी बस्ने कोठामा पुग्दा उनी भित्रबाट ढोका लग गरेको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गरेको खुलेको छ ।
उनको पार्थिक शरीरलाई परिवारको सल्लाह अनुसार नै जापानमै अन्त्यष्टी गरिने तयारी गरिएको छ । तर जापानमा अन्त्यष्टीका लागि आर्थिक अभाव भएको रोल्पा समाज जापानका अध्यक्ष रोकाले बताए । अध्यक्ष राना मगरले आर्थिक सहयोग गरिदिन पनि सबैलाई अनुरोध गर्नु भएको छ । मृतक महराको पार्थिव शरीरलाई कहिले अन्त्यष्टी गरिने भन्ने अझै टुङ्गो लागेको छैन ।।