२६ पुस, घोराही –
कोरोना संक्रमणको जोखिमबाट बालबालिकालाई बचाउन सरकारले आगामी माघ १५ गते सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभूत र माध्यामिक विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठनपाठन जारी राख्नुपर्ने बताउनुभयो ।
प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोपको प्रबन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परीक्षाहरु भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो ।।